विराटनगरमा विराट ट्रेड फेयर आज बाट सुरु
- असोज २२, २०८३
- १७० पटक पढिएको
विराटनगर ।सीमावर्ती भारतीय बजार जोगबनीतर्फ भइरहेको पुँजी पलायन रोक्दै सुस्ताएको स्थानीय व्यापारलाई चलायमान बनाउने उद्देश्यले विराटनगरको जैन भवनमा विराट ट्रेड फेयर’ सुरु भएको छ ।
विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा सुरु भएको ९ दिने व्यापार मेलाको कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले उद्घाटन गरेका थिए। दसैंको किनमेललाई विराटनगरमै केन्द्रित गराउने लक्ष्यसहित आयोजना गरिएको मेलामा ११० भन्दा बढी स्टल राखिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यापारिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यको नीति थप प्रभावकारी र व्यवसायमैत्री हुनुपर्ने बताए । सीमावर्ती क्षेत्रका व्यवसायीले भोगिरहेका समस्या समाधान नगरेसम्म स्थानीय बजारलाई प्रतिस्पर्धी बनाउन कठिन हुने बताए । १५ वर्षपछि विराटनगरमा दोस्रोपटक आयोजना गरिएको व्यापार मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता तथा दैनिक उपभोग्य वस्तुदेखि स्वदेशी र स्थानीय उत्पादनसम्मका सामग्री राखिएका छन् । कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, प्रदेश योजना आयोगका अध्यक्ष तारानाथ निरौला, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले आ आफ्नो भनाइ राखेका थिए।
दसैंलाई लक्षित गरी आयोजना गरिएको मेला असोज ३० गतेसम्म सञ्चालन हुने आयोजक बताएका छन् ।





















