विराटनगर।झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैधरूपमा लुकाइछिपाइ ल्याइएका करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरेको छ।

असोज २० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा यात्रुवाहक बसबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरका रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका खाद्यान्न सामग्री बरामद गरेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–५ बाट भन्सार छलीका कुर्था–सुरुवाल, बच्चाको जामा, भेस्ट र मोजा लगायत करिब ४ लाख ९ हजार ४६० रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।

विराटनगर–९ बाट बिलबिजक नभएको ५४० किलोग्राम सुपारी, करिब २ लाख ७० हजार रुपैयाँ बराबरको, बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको पीआईटी टोलीले विराटनगर–६ बाट करिब ५० हजार रुपैयाँ बराबरका कुर्था–सुरुवाल बरामद गरेको छ। झापाको इलाका प्रहरी कार्यालय शिवगञ्जले पनि करिब ११ हजार ४ सय रुपैयाँ बराबरका खाद्यान्न सामग्री बरामद गरेको छ।

बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।