युवा तथा महिला उद्यमशीलता प्रवर्द्धनका लागि विराटनगरमा परामर्शात्मक कार्यशाला
- असोज २०, २०८३
- ४१८ पटक पढिएको
विराटनगर । युवा तथा महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धन, लैङ्गिक उत्तरदायी नीति निर्माण तथा जलवायु उत्थानशीलताका विषयमा विराटनगरमा परामर्शात्मक दुइदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
GRAPE–2 परियोजनाको आयोजनामा तथा नेपाल सरकार, युरोपेली संघ (EU), जर्मन विकास सहयोग संस्था (GIZ) र एफडब्लुएएन ( F-WEAN ) को सहकार्यमा विराटनगरस्थित होटल इस्टर्न स्टारमा कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा युवा तथा महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, चुनौती, अवसर तथा नीति सुधारका विषयमा छलफल गरिएको थियो। सरकारी निकाय र निजी क्षेत्रबीच संवाद तथा सहकार्य बढाउँदै उद्यमी तथा व्यवसायीका समस्या समाधानका लागि आवश्यक पहल र सम्भावनाबारे समेत छलफल भएको आयोजकले जनाएको छ।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थ, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, विराटनगर महानगपालिका वडा न:११का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने ,महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय उपाध्यक्ष बसन्ती प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल कोशी प्रदेश समितिकी अध्यक्ष कृति श्रेष्ठ उपाध्याय, साना तथा मझौला व्यवसायी महासंघ नेपाल कोशी प्रदेश समितिका सचिव दिनेश भक्त श्रेष्ठ, मोरङ जिल्ला कार्यसमितिका अध्यक्ष अर्जुन श्रेष्ठ तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलालगायत उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।मन्त्री महतोले महिला बिना पुरुष अधुरो हुन्छ,र महिलाहरुले गरेका काम सम्मान जनक छ।आगामी दिनको शुभकामना दिदै आफ्नो भनाइ राखेका थिए।
कार्यशालामा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी क्षेत्रका प्रतिनिधि, विराटनगर महानगरपालिकाका प्रतिनिधि, महिला उद्यमी, एसएमई मोरङका पदाधिकारी तथा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रमले युवा तथा महिला उद्यमीका लागि अनुकूल व्यवसायिक वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा लैङ्गिक उत्तरदायी र जलवायु उत्थानशील नीति निर्माणमा सहकार्य बढाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।























