सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थित सकुवागाछी चोकबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजासहित एक ट्रक बरामद गरेको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र ट्राफिक प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी चेकिङ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंकाका आधारमा रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ट्रकको बन्दागोपीले छोपिएको भित्रीपट्टि गाँजा जस्तो देखिने पदार्थका ८३ वटा बोरा फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ तौल गर्दा जम्मा २ हजार ५ सय ६६ किलो ५६० ग्राम रहेको खुलेको छ।

प्रहरीले ट्रक चालक धनकुटा शहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सहचालक १८ वर्षीय सन्दिप राईलाई पक्राउ गरेको छ।

बरामद गाँजासहित ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।