हिमपहिरोमा परी सम्पर्कविहीन थप २ जनाको शव फेला, मृतकको संख्या ४ पुग्यो
- असोज १२, २०८३
- २८४ पटक पढिएको
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
हिम्लुङ बेस क्याम्प स्थापना गर्न विभिन्न ट्रेकिङ एजेन्सीमार्फत गएका २२ जना नेपालीमध्ये १० जना असोज ११ गते साँझ सकुशल फु–गाउँ आइपुगेका थिए। बाँकी १२ जना भने सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीनमध्ये यसअघि संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला–२ का करिब ३१ वर्षीय पासाङ भोटेको शव उद्धार गरिएको थियो। उनीहरूको शव असोज १२ गते कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ।
यसैबीच, असोज १२ गते बिहान करिब ११ बजे हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी कैलाश हेलिकप्टरमार्फत प्रदेश अस्पताल चामे, मनाङ ल्याइएको छ। ती दुवै शवको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दुर्गम क्षेत्रमा रहेको छ। बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।




















