विराटनगरमा ३८६ किलो गाँजासहित स्कार्पियो कार नियन्त्रणमा
- असोज ११, २०८३
- २३४ पटक पढिएको
विराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकबाट प्रहरीले ३८६ किलो लागूऔषध गाँजासहित स्कार्पियो कार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १० गते राति करिब १० बजे प्रहरी चौकी बरगाछीले खडा गरेको आकस्मिक चेकप्वाइन्टमा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो कारलाई चेकिङका क्रममा रोक्न खोजिएको थियो।
प्रहरीलाई देखेपछि चालकले कार नरोकी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। त्यसपछि प्रहरीले स्कार्पियो खानतलासी गर्दा कारभित्र लुकाइछिपाइ राखिएको १३ वटा पोकामा ३८६ किलो गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएपछि स्कार्पियोका चालक फरार भएका छन्। प्रहरीले चालकको खोजी तथा पहिचान गर्ने कार्य जारी राखेको जनाएको छ। दुर्घटनामा परेको बागमती प्रदेशको कारका चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
दुवै सवारी साधन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भइरहेको छ।




















