आजबाट सोह्र श्राद्ध सुरु
- असोज ११, २०८३
- ११३ पटक पढिएको
काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ ।
समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नपछि गर्नुपर्ने शास्त्रीय व्यवस्था छ । पितृपक्षमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने १६ तिथिमा पितृलाई श्रद्धापूर्वक सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । यस अवधिलाई अपर पक्ष तथा प्रेत पक्षका नामले समेत चिनिन्छ ।
वैदिक सनातन परम्परामा चाडपर्व तथा ठूला धार्मिक कार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने र तृप्तिका लागि श्राद्ध गर्ने प्रचलन छ । पितृपक्षमा पितृले आफ्ना सन्तानबाट गरिने श्राद्धको अपेक्षा गर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
सोह्र श्राद्धमार्फत पितृप्रतिको दायित्व पूरा हुने तथा पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिअनुसार सोह्र श्राद्ध गर्नु धार्मिक कर्तव्यका रूपमा लिइएको छ ।
कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रले वैकल्पिक व्यवस्था पनि गरेको छ । धर्मशास्त्रविद्हरूका अनुसार आफ्ना पिताको मृत्यु भएको तिथिमा श्राद्ध गर्नु मुख्य विधान हो । कुनै कारणले सो समयमा गर्न नसकिए आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था छ ।
त्यस अवधिमा पनि श्राद्ध गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको बताइएको छ ।
यस वर्ष गत जेठमा अधिकमास परेका कारण सोह्र श्राद्ध तथा बडादसैँलगायतका पर्व केही ढिला सुरु भएका छन् ।




















