असोज आठ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
- असोज ८, २०८३
- ११७ पटक पढिएको
विराटनगर । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली तथा नेपालमाथि रहेको मनसुनी र पश्चिमी वायुमण्डलीय प्रणालीको प्रभावका कारण असोज ८ गतेदेखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै बलियो हुँदै गएकाले नेपालतर्फ ठूलो मात्रामा आर्द्र हावा प्रवेश गर्ने सम्भावना रहेको छ।
मनसुन पूर्ण रूपमा नहटिसकेको अवस्थामा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले कतिपय स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, नदी कटान तथा डुबानलगायतका प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सम्बन्धित निकायले आग्रह गरेको छ।




















