पैसा केही होइन भन्नका लागि पनि

पैसा कमाउनु पर्छ

माया केही होइन भन्नका लागि मायामा धोका खानु पर्छ ,

मायामा नै संसार अडिएक‍ो छ भन्नका लागि असल जीवन साथी हुनुपर्छ

मान्छे कस्तो रहेछ भनेर चिन्नका लागि व्यवहार गर्नुपर्छ।


सम्बन्धलाई मजबुत बनाउनका लागि विश्वास र माया चाहिन्छ 

यो सहरको भीड ,प्रदुषित वातावरण अनि स्वार्थी मान्छे बिच 

बाँच्न पनि कहाँ सजिलो छ र ?महोदय 

अरूकै खुशी हेर्दाहेर्दै जिन्दगी जाँदो रहेछ

आफ्नो खुशी बिस्तारै सेलाउँदो रहेछ।


मनभरि रङ्गीन सपना सँगालेर

रातैभरि ननिँदाई बिहान एकनासे हुनुपर्दो रहेछ,

टुटेका सपना अधुरा चाहना त्यागेर

जीवन जिउनु पर्दो रहेछ

आखिर जीवन भन्नु नै अनुभवको सँगालो त रहेछ।


रुन्चे हाँसो पीडाले छट्पटी रहेक‍ो मन हुँदा

दिनको उज्यालो पनि अन्धकारमय लाग्द‍ो रहेछ,

आँखाभित्र लुकेका आँसु

भत्किएको पुलझैँ

सम्झना थाँती राखेर समालिदै 

जिन्दगी चलाउनु पर्दोरहेछ ,

अस्ताउन लागे पनि निभ्न आँटेको दियो झैँ चम्किनु पर्दो रहेछ

आखिर जीवन भन्नु नै अनुभवको सँगालो नै रहेछ।


           सुशीला प्रसाईं (दंगाल) 

            विराटनगर -१