कविता-: काँचको सँघार र मौन पर्खाल
- असोज ६, २०८३
- २५२ पटक पढिएको
आँसु निस्कनपनि
एउटा न्यानो ,
कुना चाहिन्छ मनलाई,
तर यहाँ त परेलीका डिलहरू पनि
अदृश्य बरफ बनेर जमेका छन्।
सपनाहरूले भरिएको एउटा उज्यालो आकाश
बाकसभित्र थुनेर ल्याएकी थिइन् उनले,
आज त्यही बाकसभित्र
आफ्नै सास गुटमुटि्एर छटपटाइरहेछ।
सिन्दूरको रङमा सजिएको सिमानाभित्र
उनी एउटा निष्प्राण छाया बनेकी छिन्,
जसलाई पाइला पछि पाइलामा
आफ्नै अस्तित्व त्यागेको प्रमाण मागिन्छ।
बिहानको पहिलो किरणसँगै
ओछ्यानबाट उठ्छन् केवल उनका हात र खुट्टा,
तर उनको मर्म, उनको चेतनासॅंगै भए,
त्यही अँध्यारो कुनामा मृतप्रायः ढलिरहन्छ।
भान्साको धूवाँमा हराउँदै जान्छ
उनको आफ्नै पहिचानको बासना,
अगेनाको तातोले होइन,
मान्छेहरूको चिसो हेराइले डढ्छ उनको छाती।
हरेक भाँडाको टिक टिक आवाजसँगै
मुटुमा नयाँ चिरा पर्छ,
जहाँ आफन्त भनिने आँखाहरू
केवल खोट र त्रुटिका छर्राहरू बर्साउँछन्।
'सहनु नै नारीको धर्म हो' भन्ने
त्यो प्राचीन तर दोधारे मन्त्र,
अहिले उनको घाँटीमा कडा पासो बनेर कसिएको छ।
उनी सहन्छिन्-
न त कुनै बदलाको आशामा,
न त कुनै सराहनाको लोभमा,
केवल यो सोचेर कि-
आगोको भुङ्ग्रामा पसिसकेपछि
डढ्नु बाहेक अर्को कुनै विकल्प हुँदैन।
तर यो मौनता
कुनै समर्पण होइन,
यो तभित्रभित्रै ज्वालामुखी पाक्दै गरेको
एउटा भयानक रित्तता हो।
जहाँ हरेक रात
ऐना अगाडि उभिएर
उनी आफ्नै मृत आत्मासँग सोध्छिन्,
के संस्कारको नाममा
मान्छेलाई यसरी नै भित्रभित्रै मारिन्छ?
जमुना क्षेत्री
इटहरी




















