उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार (सिकल) प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय करिब ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको गर्दनमा सिकल प्रहार गरेका थिए।

घटनापछि गन्दु राम आफैं राति करिब १२ः३० बजे प्रहरी चौकी माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको छ।

घाइते बिमलालाई प्रहरी चौकी माडिबासबाट खटिएको प्रहरी टोलीले तत्काल नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। उनको उपचारका क्रममा राति १ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।