कवि प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ लोकार्पण
- असोज ३, २०८३
- १२७ पटक पढिएको
विराटनगर । कवि प्रयाग न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘अन्पी मुसहरको माटो’ लोकार्पण गरिएको छ। विराट साहित्य सङ्गमको आयोजनामा भएको कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थितिमा कवितासङ्ग्रह लोकार्पण गरिएको हो।
कार्यक्रमको अध्यक्षता विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलले गरेका थिए। प्रमुख अतिथिका रूपमा डा. कैलाश राईको सहभागी रहेको थियो । विशिष्ट अतिथिमा विवश पोखरेल, प्रा. डा. मीनराज ढकाल, प्रा. डा. मेदिनी शर्मा, प्रा. डा. हरिहर भण्डारी र सरला चापागाईं रहेका थिए।
कार्यक्रममा खेम नेपालीले उद्घोषण, गोपाल निर्भीकले स्वागत मन्तव्य, उमेश लुइँटेलले लेखक परिचय तथा बाबुराम पोखरेलले कवितासङ्ग्रहको समीक्षा प्रस्तुत गरे। विवश पोखरेल, मनु मञ्जिल र बाबुराम कार्कीले शुभकामना मन्तव्य राखे।
सो अवसरमा बद्री भिखारी, मीन कुमार नवोदित र शुभलक्ष्मी लम्सालले ‘अन्पी मुसहरको माटो’बाट एक–एक कविता वाचन गरे। कवि प्रयाग न्यौपानेले लेखकका रूपमा आफ्नो मन्तव्य राखेका थिए भने रामबाबु दाहालले कार्यक्रम तथा निमन्त्रणा स्वीकार गरी उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
प्रमुख अतिथि डा. कैलाश राईले साहित्यमा ‘अन्पी मुसहर’जस्ता पात्र र विषयहरू खोजी गर्दै थप उजागर गर्नुपर्ने बताए। कार्यक्रममा साहित्यप्रेमी तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मानसमेत गरिएको आयोजकले जानकारी दिए।





















