विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसका अवसरमा शनिबार विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ।

संविधान दिवस मूल समारोह समितिको आयोजनामा विराटनगरको सभागृहबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सहिद मैदानमा पुगेर समारोहमा परिणत भएको थियो। प्रभातफेरीमा विभिन्न समुदायका सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

सहिद मैदानमा आयोजित समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्की, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

संविधान दिवसकै अवसरमा आयोजना गरिएका निबन्ध, हाजिरीजवाफ तथा खेलकुद प्रतियोगिताका विजेतालाई समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।