विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि सोमबार नवजात शिशु फेला परेको छ।
करिब २–३ दिनको जस्तो देखिने नवजात शिशु छोरा फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शिशुको सकुशल उद्धार गरेको हो।
प्रहरीले उद्धार गरिएको शिशुलाई उपचारका लागि कोशी अस्पताल पुर्याएको जनाएको छ। अस्पतालमा गरिएको प्रारम्भिक जाँचअनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।



















