बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–९ खल्ला कतर्नियास्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकले यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिँदा १२ जना यात्रु घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बर्दियाको गुलरिया नगरपालिका–८ निवासी करिब ३० वर्षीय सुरेश थारुले चलाएको B 102002 KHA 1353 नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको बारबर्दिया नगरपालिका–२ निवासी करिब २८ वर्षीय दिनेश थारुले चलाएको भे १ ख १७८६ नम्बरको बसलाई यात्रु झार्न रोकिरहेको अवस्थामा पछाडिबाट ठक्कर दिएको हो।

ठक्करपछि बस सडकबाट करिब ५–६ मिटर दक्षिणतर्फ पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबै १२ जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके पठाइएको छ।

दुर्घटनामा बारबर्दिया–१ की करिब ४२ वर्षीया पवित्रा थापा गम्भीर घाइते भएकी छन्। अन्य घाइतेमध्ये विवेक थारु, रुपनी थारु, कमल थारु र नन्दकली दमाईको अवस्था मध्यम रहेको छ भने भविसरा थापा बुढा, उनका एक महिनाका छोरा निराजन बुढा, दुई वर्षीया छोरी हनसिखा बुढा, उमिता थारु, पार्वती चौधरी, चित्रबहादुर थारु र विपत्ति थारुको अवस्था सामान्य रहेको छ।

घाइतेहरूमा टाउको, अनुहार, छाती, ढाड, हात तथा खुट्टामा चोट लागेको जनाइएको छ।

दुर्घटनापछि दुवै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गको यातायात भने अवरुद्ध नभएको जनाइएको छ।