खाली बस्थेँ म किन
उता बस्न सकिन
मेरो मुटु चर्केर
आएँ म त फर्केर ।
यता सबै टोलाए
आऊ भन्दै बोलाए
सुनपानी छर्केर
आएँ म त फर्केर ।
आफ्ना पितृ तारेर
सबै दङ्ग पारेर
हुन्न मैले तर्केर
आएँ म त फर्केर ।
राजनीति गर्नु छ
गर्दा गर्दै मर्नु छ
बसिन म थर्केर
आएँ म त फर्केर ।
धन्यवाद दिँदैछु
कुर्सी फिर्ता लिँदैछु
कति बस्नु धर्केर
आएँ म त फर्केर ।
हरिप्रसाद तिमल्सिना
त्रिपुरासुन्दरी -४
धादिङ



















