विराटनगर।भदौ ६ गत्ते विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विराटनगरस्थित अरनिको कलेजमा आयोजित वृहत् खुला कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका ४२ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा ९ की छात्रा आरोही ढकाल प्रथम भएकी छन्।
कलेजका निर्देशक भरतराज दाहालको संयोजकत्व तथा निर्देशक डा. भविन्द्र निरौलाको विशेष उपस्थितिमा सम्पन्न प्रतियोगितामा अंशिका गिरी र सेन्डृना कार्की द्वितीय भएका छन्। त्यस्तै प्रसिद्ध पोखरेल र कनक कायस्थ तृतीय तथा अन्वेशा घले सान्त्वना स्थान हासिल गर्न सफल भएकी छन्।
साहित्यकार तथा ‘ब्रेकिङन्यूज नेपाल’का प्रधानसम्पादक मीनकुमार नवोदित, वरिष्ठ साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ र साहित्यकार अम्बिका खरेल सम्मिलित निर्णायकमण्डलले प्रतिस्पर्धीका रचना तथा प्रस्तुतीका आधारमा उत्कृष्ट कविता छनोट गरेको थियो।
प्रतियोगिताका विजयी तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरूले ट्रफी र प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका थिए।
शिक्षक विमल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा १२ की छात्रा प्रस्तुति पराजुलीले गरेकी थिइन्। कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।



















