काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यू पहिलोपटक दुबई निर्यात गर्न थालेको छ। नेपाली उत्पादनलाई विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रबारदेखि दुबईमा घ्यू पठाउन सुरु गरिएको हो।

डीडीसीले पहिलो चरणमा ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाएको जनाएको छ। दुबईमा घ्यू निर्यातका लागि संस्थानले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।

डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार सुरुवाती चरणमा दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गरी बजार परीक्षण गरिनेछ। त्यहाँको माग र बिक्रीको अवस्था हेरेर आगामी दिनमा निर्यातको परिमाण बढाउने तयारी गरिएको छ।

नेपाली उत्पादनको बजार विस्तारका लागि पहिलो खेप हवाईमार्गबाट पठाइएको हो। त्यसपछि लागत घटाउने उद्देश्यले भारत हुँदै कन्टेनरमार्फत नियमित रूपमा घ्यू पठाउने तयारी डीडीसीको छ।

डीडीसीले दुबईसँगै मध्यपूर्वका अन्य मुलुकमा पनि घ्यूसहित आफ्ना विभिन्न दुग्धजन्य उत्पादन निर्यात तथा बिक्री विस्तार गर्ने योजना बनाएको जनाएको छ।