मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

२गत्ते बिहान करिब ७ बजे काठमाडौं–वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा स्कारपियोमा सवार सबै ६ जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो। त्यहाँबाट चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई बिहान ९ बजे थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।

बाँकी चार जना घाइतेलाई बिहान ९ः१५ बजे नेपाली सेनाको हेडक्वार्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको थियो। उपचारका क्रममा रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको बिहान १०ः२९ बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेमा चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका–९ दाङका ५७ वर्षीय मुख्य न्यायाधीश गोकर्ण डाँगी, बैतडीको दशरथचन्द नगरपालिका–७ का ५१ वर्षीय रजिष्ट्रार तारादत्त बडु, उनका छोरा २५ वर्षीय रितेन्द्र बडु र छोरी ३१ वर्षीया रिता बडु रहेका छन्।

चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुको अवस्था मध्यम रहेको छ। मुख्य न्यायाधीश गोकर्ण डाँगी र रितेन्द्र बडुको अवस्था पनि मध्यम रहेको जनाइएको छ भने रिता बडुको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात सुचारु रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।