दुबई,।युएई, १६ अगस्ट २०२६ — सिर्जना वाचन डबली, युएईको २९औँ शृङ्खला विविध साहित्यिक कार्यक्रमसहित बरदुबई आब्रास्थित गाउँबेशी रेष्टुरेन्टमा रूपमा सम्पन्न भएको छ।
सिर्जना वाचन डबलीका संरक्षक टक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जे. सागरले संयोजन तथा भवानी नेपालले सञ्चालन गरेका थिए। कार्यक्रममा करिब ७०–८० जना साहित्यप्रेमी, सर्जक तथा दर्शकको सहभागिता रहेको थियो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व सह-संयोजक विकास शाहीको प्रमुख आतिथ्यता रहेको थियो। युएईमा विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्व तथा साहित्यप्रेमीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा सिर्जना वाचन डबलीको लोगो अंकित पोशाक सार्वजनिक गरिएको थियो। उक्त पोशाक प्रायोजन गरेकोमा आयोजकले प्रभु बैंक तथा युएई राज्य प्रमुख डा. प्रकाश पौडेलप्रति विशेष आभार व्यक्त गरेको छ।
त्यसैगरी, कार्यक्रममा उपस्थित अतिथि तथा सर्जकहरूलाई उपहारस्वरूप ‘यूएईले बाँडेको मुस्कान’ लगायत विभिन्न विधाका पुस्तक प्रदान गरिएको थियो। साहित्यप्रतिको सम्मान तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको उक्त कार्यलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए।
कार्यक्रममा करिब ३० जना सर्जकले आफ्ना मौलिक रचना प्रत्यक्ष वाचन गरेका थिए। कविता, गजल, मुक्तक लगायत विभिन्न साहित्यिक विधाका रचनाहरू प्रस्तुत हुँदा कार्यक्रम सिर्जनात्मक तथा साहित्यिक माहोलले भरिएको थियो।
प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनालाई सन् २०१४ देखि निरन्तरता दिँदै आएको सिर्जना वाचन डबलीले नियमित रूपमा आयोजना गर्दै आएको शृङ्खलाको निरन्तरताका रूपमा २९औँ शृङ्खला सम्पन्न गरेको हो। यस कार्यक्रमले युएईमा रहेका नेपाली सर्जकहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्दै नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन र संरक्षणमा योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ।





















