कोशी प्रदेशमा नेकपा सरकारमा सहभागी, पाँच मन्त्रीले लिए शपथ
- भदौ १, २०८३
- ९९ पटक पढिएको
विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनका लागि तीन बुँदे सहमति भएपछि कोशी प्रदेश सरकारमा नेकपा औपचारिक रूपमा सहभागी भएको छ।
नेकपाबाट गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून, गीता तिसिनाले सामाजिक विकास, खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण र जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
सरकार विस्तारसँगै नेकपा एमालेबाट सरकारमा रहेका केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सामाजिक विकास मन्त्री रामप्रसाद मेहताको जिम्मेवारी उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा तोकिएको छ। उमाकान्त गौतमलाई आन्तरिक मामिला मन्त्रालयबाट सरुवा गरी स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।
एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत राखिएको छ।
नवनियुक्त मन्त्रीहरूलाई सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका थिए। राज्यमन्त्री दर्जीलाई भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका छन्।




















