कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ।

बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी बर्दगोरिया गाउँपालिका–४ की ६२ वर्षीया सावित्री देवी सापकोटाले चलाएको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको थियो। ट्रक चालक नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको दोदोधरा अस्पताल प्रा.लि., मुडागाउँमा बिहान ८:४० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि ट्रक, ईभी स्कुटर र ट्रक चालक दिनेश गिरी इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।