विराटनगर।मोरङ कारागारमा सोमबार बिहानैदेखि गरिएको खानतलासीसँगै कैदीबन्दी स्थानान्तरणको विषयले तनाव उत्पन्न भएको छ । कारागारभित्र अवैध गतिविधि र लागुऔषधको कारोबार हुने गरेको सूचनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर बिहान ४ः३० बजेदेखि खानतलासी थालिएको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, प्रहरी प्रमुख एसपी कवित कटवालसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारागारमा सर्च अभियान चलाइएको हो । प्रहरीका अनुसार खानतलासी नियमित प्रक्रियाअन्तर्गत गरिएको हो ।
खानतलासीसँगै केही कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भएपछि कारागारभित्रै विरोध चर्किएको छ । सुरक्षा स्रोतका अनुसार आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध राख्ने तथा उनलाई कारागारभित्रबाट सहयोग गर्दै आएका १५ भन्दा बढी कैदीबन्दीलाई अन्यत्र सार्ने तयारी गरिएको थियो ।
स्थानान्तरणको तयारी थाहा पाएपछि ९बी ब्लकका कैदीबन्दीले सुरक्षाकर्मीलाई प्रवेश रोक्दै नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरूले ब्लकभित्र आगोसमेत बालेर विरोध जनाएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
कैदीबन्दीले भित्रबाट तालाबन्दी गरेर सुरक्षाकर्मीलाई प्रवेश गर्न नदिएपछि कारागारमा थप सुरक्षा सतर्कता बढाइएको छ । स्थिति नियन्त्रणमा लिन आवश्यक परे बल प्रयोग गरेर भए पनि ब्लकभित्र प्रवेश गर्ने र गिरीनिकट कैदीबन्दीलाई स्थानान्तरण गर्ने तयारी रहेको सुरक्षा स्रोतले जनाएको छ ।
आपराधिक विश्वासघात र ठगीसम्बन्धी घटनामा अनुसन्धानमा परेका गिरी जाहेरवालासँग सहमति भएपछि उक्त मुद्दामा छुटिसकेका छन् । तर, कारागारसँग सम्बन्धित विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



















