विराटनगर। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घर–घरमा नागको पूजा तथा आराधना गरी मनाइँदैछ। धार्मिक परम्पराअनुसार नागको तस्बिर घरको मूलढोकामा विधिपूर्वक टाँसेर पूजा गर्ने चलन छ।

यस वर्ष जेठमा अधिकमास परेकाले सौरमासअनुसार नागपञ्चमी भदौको पहिलो दिन परेको हो। नागपञ्चमीका अवसरमा नागको पूजा गरेमा वर्षभर नाग, सर्प, बिच्छीलगायत जीवबाट हुने दुःख तथा भयबाट जोगिन सकिने धार्मिक विश्वास रहेको छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत सुरक्षा मिल्ने मान्यता रहेको पण्डित बलराम कोइराला बाताउँछन्।

धार्मिक ग्रन्थहरूमा नागपूजाको परम्परा वैदिककालदेखि नै सुरु भएको उल्लेख छ। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र पानीका लागि नागलाई प्रसन्न पार्ने उद्देश्यले पूजा गर्ने परम्परा विकास भएको मानिएको छ।

वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख छ। यही धार्मिक प्रसंगका कारण श्रावण शुक्ल पञ्चमी नागपूजाका लागि विशेष दिनका रूपमा मानिएको हो।

सनातन धार्मिक परम्परामा घरको जगमुनि पनि नागको वास हुने विश्वास गरिन्छ। नाग रिसाएर घर छाडेमा घरको जग कमजोर भई भत्किन सक्ने धार्मिक मान्यताका आधारमा नागको पूजा गर्ने र मूलढोकामा नागको तस्बिर टाँस्ने परम्परा रहँदै आएको छ।

नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ। भगवान् शिवले नागलाई गलामा धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा जलमाथि शयन गर्ने धार्मिक मान्यताका कारण नागलाई दुवै देवतासँग सम्बन्धित शक्तिका रूपमा पूजा गर्ने परम्परा छ।

यसरी नागपञ्चमी सर्पको पूजा गर्ने पर्वमा मात्र सीमित नभई पानी, वर्षा, प्रकृति र घरको सुरक्षासँग जोडिएको प्राचीन धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।