चितवन। पल्लव साहित्य प्रतिष्ठान, चितवनको आयोजनामा हुँदै आएको ‘बृहत् साहित्यिक कुम्भ मेला’ यस वर्ष आगामी भदौ १३ गते नारायणगढस्थित पर्व पार्टी प्यालेसमा आयोजना हुने भएको छ।

नेपाली भाषा, साहित्य तथा कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छ जना स्रष्टा तथा द्रष्टालाई समारोहमा विभिन्न पुरस्कारसहित ‘पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८३’ बाट सम्मानित गरिने आयोजकले जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’का अनुसार संस्कृत विधामा विद्यावारिधि गर्ने प्रथम नेपाली महिला डा. दिव्यप्रियंवदा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुनेछ।

सम्मानित तथा पुरस्कृत हुनेमा विराटनगरकी स्रष्टा नानुमैया दाहाललाई ‘मीना–रत्न साहित्य पुरस्कार’ प्रदान गरिनेछ। त्यस्तै स्याङ्जा गल्याङका चण्डिप्रसाद भट्टराईलाई ‘बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार’ र स्याङ्जा वालिङका मिलन समीरलाई ‘शेषनाथ लामिछाने स्मृति बाल साहित्य पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएको छ।

यसैगरी मध्यपुर ठिमी, भक्तपुरकी दूर्गा घिमिरेलाई ‘केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार’, बेलकोटगढी, नुवाकोटका शिखरनाथ ढकाललाई ‘काजीमान श्रेष्ठ तथा नन्दकुमारी–सन्तकुमारी श्रेष्ठ रत्न पुरस्कार’ र गैँडाकोट, नवलपुरकी भूमिका गैह्रे तिम्सिनालाई ‘युसुफदिन–हलिमा पुरस्कार’ प्रदान गरिनेछ।

पुरस्कृत सबै स्रष्टालाई ‘पल्लव राष्ट्रिय सम्मान–२०८३’ बाट समेत विभूषित गरिने अध्यक्ष लामिछानेले जानकारी दिए।

देशभरका साहित्यकारहरूको सहभागिता रहने कार्यक्रममा ‘नारी स्रष्टा परिचयकोष–२’, ‘पल्लव’को ३०औँ अंक, छन्द कविता सङ्ग्रह ‘अभीप्सा’ र कथासङ्ग्रह ‘लावण्यस्मृति’ लगायतका कृतिहरूको सामूहिक विमोचनसमेत गरिने कार्यक्रम रहेको छ।