लागूऔषधसहित झापा र मोरङबाट ३ जना पक्राउ
- साउन २६, २०८३
- ८२ पटक पढिएको
विराटनगर।झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
साउन २५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–५ मा भारतबाट नेपालतर्फ आउँदै गरेको को १२ प ३७३ नम्बरको मोटरसाइकललाई शंकास्पद रूपमा चेकजाँच गरेको थियो। त्यस क्रममा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–४ का ३१ वर्षीय धिरज गुरुङ र पछाडि सवार झापा गाउँपालिका–२ का २६ वर्षीय भुपेन्द्र सिंह राजवंशीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मोरङको रंगेली नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००४ ह ६७७० नम्बरको ई–रिक्सालाई शंकास्पद रूपमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सोही स्थानका ३० वर्षीय सुनिल कुमार मण्डलको साथबाट ६२० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















