नवलपरासी। (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ स्थित पत्थर खोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन्।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज १००० नम्बरको माइक्रोबस (ईभी हाइस) अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। माइक्रोबसमा चालक र सहचालकसहित ७ जना सवार थिए।

दुर्घटनामा कावासोती–८ का २७ वर्षीय चालक होरामणी महतो, कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर, उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर, सुर्खेत वीरेन्द्रनगर–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिका–३ का ५५ वर्षीय बिधासागर लोना चमार घाइते भएका छन्।

घाइतेमध्ये चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य घाइते सबैको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।