विराटनगर । सप्तरीको राजगढ गाउँपालिका–१ कजराहा टोलस्थित पश्चिमतर्फ नहरको छेउबाट प्रहरीले १९० किलो ५२० ग्राम बेवारिसे गाँजा बरामद गरेको छ।

प्रहरी चौकी झुट्की, सप्तरी र सशस्त्र प्रहरी बल बनेनिया, सप्तरी बेस क्याम्पबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा नहरको छेउमा बेवारिसे अवस्थामा राखिएका पाँच वटा बोरा फेला पारेको थियो।

बोराहरू खोली जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध गाँजा भेटिएपछि प्रहरीले बरामद गरेको हो। बरामद गाँजा १९० किलो ५२० ग्राम रहेको प्रहरीले जनाएको छ।

गाँजा कसले र कुन उद्देश्यले उक्त स्थानमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।