सल्यान। सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।
कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।
पुन मगर साथीहरूसँग शिकार खेल्न जंगल गएका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई पक्राउ गरेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















