विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन २१ गते गरिएको चेकजाँचका क्रममा झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई नगरपालिका–४ का मिलन गुरुङलाई ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड नगरपालिका–५ का इकवाल अन्सारी, बाह्रदशी गाउँपालिका–४ का मनोज राजवंशी र बाह्रदशी गाउँपालिका–३ की धनकुमारी राजवंशीलाई १९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रानीले धरान–३ का राजेश खड्की र धरान–१५ का विजय तामाङलाई ३९ वटा नाइट्राजेपाम (नाइट्रोजन) ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ।

उता धनकुटाको इलाका प्रहरी कार्यालय पाख्रिबासले महालक्ष्मी नगरपालिका–५ का समिर राई र सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ का सौजन लिम्बुलाई १४४ क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।