विराटनगर।विराटनगरको पुरानो सामाजिक संस्था आदर्श निर्माण मन्दिरले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा शनिबार स्वर्ण जयन्ती महोत्सव आयोजना गर्ने भएको छ ।

संस्थाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै साउन २३ गते दिउँसो ३ः३० बजे हाटखोलास्थित आरोहण गुरुकुलमा महोत्सव आयोजना गरिने भएको हो ।

संस्थाका अनुसार महोत्सवमा सामाजिक, सांस्कृतिक तथा प्रेरणामूलक कार्यक्रम समावेश गरिएका छन् । कार्यक्रममा नेपालका चर्चित हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रस्तुति रहने संस्थाका अध्यक्ष शिवरतन जोशीले बताए ।

वि.सं. २०३३ मा स्थापना भएको आदर्श निर्माण मन्दिरले पाँच दशकदेखि चरित्र निर्माण, नैतिक चेतनाको विकास र सामाजिक उत्थानका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ । संस्थाले बाल संस्कारशाला सञ्चालन, नशामुक्ति अभियान, पोलियो क्लिनिक सञ्चालन, कृत्रिम खुट्टा वितरण, रक्तदान, पशुपति क्षेत्रमा करिब ३ हजार ५०० बेवारिसे शवको दाहसंस्कार तथा शीतल जल प्लान्ट स्थापना जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

स्वर्ण जयन्तीको अवसरमा बरगाछीस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा खानेपानीका लागि वाटर फिल्टर प्लान्ट पनि जडान गरिने संस्थाका महासचिव प्रेम पारखले जानकारी दिए ।

संस्थाले स्वर्ण जयन्तीलाई संस्थाको पाँच दशक लामो सामाजिक योगदानको स्मरणीय अवसरका रूपमा मनाउन लागिएको उल्लेख गर्दै कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेको छ ।