संखुवासभा ।संखुवासभाको मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका छन् ।
खाँदबारी–१० निवासी निरौला साथीहरूसँग खाना खाएर हाइड्रोपावरको आवासतर्फ फर्किरहेका बेला बुधबार राति करिब ११ बजे खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ । अहिलेसम्म उनको अवस्था खुल्न सकेको छैन । यस्तै सुनसरीको दुहबी नगरपालिका–११ मिल टोलमा धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव पनि बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ः३० बजे बाँसबाट बनाइएको अस्थायी पुल तर्दै गर्दा चिप्लिएर उनी खोलामा खसेका थिए ।
उरावको खोजी कार्य प्रहरी र स्थानीयको सहयोगमा जारी रहेको अस्थायी प्रहरी चौकी तनमुनाले जनाएको छ । मनसुनका कारण नदी तथा खोलाको बहाव तीव्र बनेकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ ।



















