दुबई। सिर्जना वाचन डबली, यूएईले आफ्नो २९औँ शृङ्खला अन्तर्गत "पोशाक लोकार्पण तथा रचना वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ।
आगामी १६ अगस्ट २०२६ (आइतबार) बरदुबईस्थित पि एण्ड डि गाउँबेशी रेष्टुरेन्ट (आब्रा) मा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा संस्थाको आधिकारिक पोशाक (ड्रेस) लोकार्पण गरिनुका साथै कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक रचनाहरूको वाचन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा साहित्य, भाषा, कला र संस्कृतिप्रति समर्पित सर्जकहरूको आत्मीय भेटघाट, अनुभव आदानप्रदान तथा सिर्जनात्मक संवादसमेत हुने जनाइएको छ। प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।
सिर्जना वाचन डबली, यूएईका अनुसार कार्यक्रमको पोशाक प्रभु बैंक लिमिटेड, नेपाल ले प्रायोजन गरेको छ भने घान्तूत नेपाली क्याफे, बरदुबई र न्यू माउन्टेन ट्राभल्स एण्ड टुरिजम, बरदुबई ले सहकार्य गरेका छन्।
कार्यक्रमको सभापतित्व संस्थाका संरक्षक टक गुरुङ ले गर्नेछन् भने कार्यक्रम संयोजकको जिम्मेवारी जे सागर ले सम्हाल्नेछन्। कार्यक्रम सञ्चालन डबली सदस्य श्री भवानी नेपाल ले गर्ने जनाइएको छ।
कार्यक्रममा साहित्यकार, सर्जक, कलाकार तथा नेपाली भाषा–साहित्यप्रेमी सम्पूर्ण महानुभावलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आयोजकले हार्दिक अनुरोध गरेको छ।



















