विराटनगर। साउन १० — आषाढ शुक्ल एकादशीका अवसरमा शनिबार देशभर श्रद्धा र भक्तिपूर्वक हरिशयनी एकादशी पर्व मनाइँदै छ। वैदिक सनातन परम्पराअनुसार यस दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास गरिन्छ। जसका कारण आजबाट चतुर्मास व्रतको पनि औपचारिक प्रारम्भ भएको मानिन्छ।

हरिशयनी एकादशीका दिन घर–घरका तुलसी मठमा तुलसीको बिरुवा सार्ने परम्परा रहेको छ। ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा एक महिनापछि स्थायी तुलसी मठमा सारेर नियमित पूजा–आराधना सुरु गरिने धार्मिक मान्यता छ।

धार्मिक ग्रन्थहरूमा आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिएको छ। यस अवधिमा भगवान् विष्णु शयन अवस्थामा रहने र हरिबोधिनी एकादशीका दिन जागरण हुने विश्वासका कारण यी दुई एकादशीलाई विशेष महत्वका साथ मनाइन्छ।

सनातन धर्ममा एकादशी व्रतलाई अत्यन्त पुण्यदायी मानिन्छ। वर्षभर पर्ने २४ एकादशीमध्ये धेरै श्रद्धालुहरूले नियमित रूपमा व्रत बस्ने गरे पनि कतिपयले चतुर्मास अवधिभित्रका एकादशीमा मात्र उपवास गर्ने परम्परा पालना गर्छन्।