अब कोलकातादेखि विराटनगरसम्म सिधा कार्गो रेल सेवा
- साउन ४, २०८३
- २५८ पटक पढिएको
विराटनगर ।पूर्वी नेपालको उद्योग–व्यापारका लागि बहुप्रतीक्षित प्रत्यक्ष रेल कार्गो सेवा औपचारिक रूपमा सुरु भएको छ । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आईसीपी) अन्तर्गत रहेको नेपाल कस्टम यार्डमा पहिलोपटक कार्गो रेल आइपुगेको हो।
कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका आयातित कच्चा पदार्थ बोकेको रेल विराटनगरसम्म प्रत्यक्ष आइपुगेको छ। पहिलो चरणमा ४० फिटका ४० वटा कन्टेनरमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आवश्यक कच्चा पदार्थ ल्याइएको छ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएकाले ढुवानी प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र निगरानीयोग्य बनाउने अपेक्षा गरिएको छ ।
यसअघि तेस्रो मुलुकबाट रेलमार्फत आउने मालवाहक कन्टेनर वीरगञ्ज भन्सारसम्म मात्र पुग्ने व्यवस्था थियो । त्यहाँबाट सडकमार्फत विराटनगर तथा पूर्वी नेपालका विभिन्न औद्योगिक क्षेत्रमा सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको थियो । नयाँ सेवासँगै अब कोलकाता बन्दरगाहबाट आएका कन्टेनर सिधै विराटनगर भन्सारसम्म आइपुग्ने भएको छ।
सडक ढुवानीमा हुने ट्राफिक जाम, दुर्घटनाको जोखिम, इन्धन खर्च तथा मौसमजन्य अवरोधसमेत रेल सेवाले न्यून गर्नेछ । यसले आयात–निर्यात प्रक्रियालाई थप प्रभावकारी बनाउँदै व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याउने देखिएको छ ।
विराटनगर आईसीपीमा रेल कार्गो सेवा सञ्चालनसँगै पूर्वाधारको उपयोगिता पनि बढेको छ । यसले विराटनगर भन्सारको कार्यसम्पादन क्षमता विस्तार गर्नुका साथै राजस्व संकलन, व्यापारिक गतिविधि र लगानी आकर्षणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
उदघाटनको तीन वर्षभन्दा लामो समयपछि कार्गो रेल नेपाल आएको हो। भारतको बथनाहादेखि विराटनगरको बुधनगर(आईसीपी)सम्मको कार्गो रेल सेवाको औपचारिक उद्घाटन सन् २०२३ जुन १ अर्थात २०८० जेठ १८ भारत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । उदघाटनका क्रममा आएको रेल त्यसपछि फर्किएको थिएन ।




















