साउनको पहिलो सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो
- साउन ४, २०८३
- १६१ पटक पढिएको
विराटनगर। साउन महिनाको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। भगवान् शिवको विशेष पूजा–आराधना तथा जलाभिषेक गर्न श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगेका हुन्।
राजधानीको पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारवटै ढोका खोलिएपछि दर्शनार्थीको घुइँचो लागेको छ। साउने झरीका बीच पनि भक्तजनले जल, दूध, बेलपत्र, धतुरो र फूल चढाएर शिवको पूजा–आराधना गरिरहेका छन्। दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न सामाजिक एवं धार्मिक संस्थालाई परिचालन गरिएको छ।
झापामा पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारास्थित जलेश्वरधाम, बाह्रदशी गाउँपालिकाको साधुकुटी कञ्चनगढ, सताक्षीधाम तथा जिल्लाका अन्य शिवालयमा पनि बिहानैदेखि श्रद्धालुको ठूलो उपस्थिति देखिएको छ।
साउने सोमबार भगवान् शिवको विशेष आराधनाको दिन मानिन्छ। यस दिन व्रत बस्ने, शिवलिङ्गमा जलाभिषेक गर्ने र बेलपत्र अर्पण गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।




















