सुनसरी ।सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनस्थित पूर्व–पश्चिम राजमार्गमा सडक किनारमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार राति झुम्काबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल टायर पन्चर भएर सडक छेउमा रोकिएको टिपरमा पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इनरुवा–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगर लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका अन्य दुई जनामध्ये एक जनाको उपचार भइरहेको छ भने अर्का एक जना प्राथमिक उपचारपछि घर फर्किएका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।