विराटनगर । कोशी अस्पतालमा सोमबार बिहानैदेखि बिरामी तथा सेवाग्राहीको अत्यधिक भिड लागेको छ । दुई दिनको सार्वजनिक बिदापछि अस्पताल खुलेसँगै उपचार गराउन आउनेको संख्या बढेको हो ।
सेवाग्राहीका अनुसार बिहान ८ः३० बजे खुल्ने टिकट तथा दर्ता काउन्टर आज भने ९ बजेपछि मात्रै सञ्चालनमा आएको थियो । काउन्टर ढिलो खुल्दा लामो लाइनमा बसेका बिरामी र आफन्तहरूले सास्ती भोग्नुपरेको बताएका छन् ।
यसअघि बिमाको दैनिक ४०० भन्दा बढी टोकन वितरण नगर्ने गरिएको अस्पतालमा अहिले भने दिनभर नै टोकन खुला गरिएको अस्पतालका कर्मचारीले जानकारी दिए। बिरामीको चाप बढेसँगै बिहानैदेखि अस्पताल परिसरमा भीडभाड देखिएको थियो ।




















