काठमाडौं ।सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने कार्यसूची अघि बढाउने क्रममा प्रतिनिधिसभा बैठकमा तनाव देखिएको छ ।

‘नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्री वालेन्द्र शाह बैठकमा अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन् । विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रस्ताव पेस गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

सदनमा विरोध चर्किंदै गएपछि  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि आफ्नो धारणा राख्न समय मागेका थिए । तर, सभामुखले बोल्न अनुमति नदिएपछि साम्पाङ असन्तुष्ट बन्दै बाहिरीएका थिए ।

सभामुखको निर्णयप्रति असहमति जनाउँदै साम्पाङ बैठक बहिष्कार गरेर संसद् भवनबाट बाहिरिएका छन् । बाहिरिने क्रममा उनले अन्य सांसदहरूलाई समेत बैठक त्याग्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सत्ता र विपक्षबीच टकराव बढेपछि प्रतिनिधिसभा बैठकको वातावरण थप तनावग्रस्त बनेको छ ।