काठमाडौं ।यस वर्षको बसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा र मकालु हिमालमा आरोहणका क्रममा दुई विदेशी नागरिकसहित पाँचजना आरोही तथा पथप्रदर्शकको मृत्यु भएको छ ।

पर्यटन विभागले बुधबार जारी गरेको विज्ञप्तिअनुसार वैशाख २० देखि २८ गतेसम्मको अवधिमा सगरमाथा र मकालु आरोहणका क्रममा उक्त मानवीय क्षति भएको हो ।

मृत्यु हुनेमध्ये तीनजना नेपाली पथप्रदर्शक रहेका छन् । सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेमा सोलुखुम्बुको सोताङ गाउँपालिका–४ का लाक्पा डेन्डी शेर्पा, सोलुदुधकुण्ड नगरपालिका–७ का विजय घिमिरे तथा खुम्बु पासाङल्हामु गाउँपालिका–५ का फुरा गेल्जेन शेर्पा रहेका छन् ।

यस्तै, मकालु हिमाल आरोहणका क्रममा एकजना चेक रिपब्लिकका नागरिक डेभिड रुबीनेक र एकजना अमेरिकी नागरिक जोहान्सेन शेलीको मृत्यु भएको विभागले जनाएको छ ।