काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पत्रकार सम्मेलन गर्दै नतिजा घोषणा गरेको हो ।
यस वर्ष एसईईमा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा गत चैत १९ देखि २९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएकाले अघिल्ला वर्षको तुलनामा नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।
यस वर्ष एसईईका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका थिए ।
बोर्डका अनुसार नतिजा सार्वजनिक भए पनि वेबसाइटमा पूर्ण अद्यावधिक हुन केही समय लाग्न सक्नेछ । विद्यार्थीले एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।




















