विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १९ को आयोजनामा आइतबारदेखि ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ । स्थानीयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यसहित सुरु प्रतियोगिताको उद्घाटन मेयर नागेश कोइराला ले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मेयर कोइरालाले खेलकुद युवाको ऊर्जा र पहिचानसँग जोडिएको क्षेत्र भएकाले महानगरले खेल गतिविधिलाई प्राथमिकतामा राखेको बताए । वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले विराटनगरलाई ‘स्पोर्ट्स सिटी’ बनाउने लक्ष्यअनुसार प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
पोखरिया युथ क्लबको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । विजेता टोलीले नगद ८० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उद्घाटन खेलमा वडा नम्बर १९ ले वडा नम्बर १ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी सुरुआत गरेको छ ।




















