विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय भइरहने कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार भने नराम्ररी चिप्लिएका छन् । 

न्याय परिषद्ले डा. मनोजुकमार शर्मालाई भावी प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरिरहँदा मुख्यमन्त्री कार्की भने सपना प्रधान मल्ललाई आफ्नो फेसबुकबाट बधाई दिएका थिए ।  

बोलाइसकेको संसद अधिवेशन रोकेर अध्यादेशमार्फत संवैधानिक परिषद्मा जबरजस्ती बहुमत कायम गरेका प्रधानमन्त्री बालेन शाहले आफ्नो ध्येय पूरा गरेका छन् । 

प्रधानमन्त्रीले आफ्नो ध्येय पूरा गरिरहँदा एमालेका सचिवसमेत रहेका कोशीका मुख्यमन्त्री कार्कीसहितका एमाले नेताहरूले भने वरियता मिचिएको भन्दै असन्तोष जनाइरहेका छन् । 

बिहीबार साँझ संवैधानिक परिषद्को बैठक चलिरहेकै बेला धेरै एमाले नेताहरूले सपना प्रधान मल्ललाई बधाई दिइरहेका थिए । 

एमालेकै अर्का सचिव महेश बस्नेतले बधाई दिंदै स्टाटस लेखेका थिए भने एमाले निकट प्रेस चौतारीका पत्रकारहरूले समाचार नै बनाइसकेका थिए । 

आफ्नै पार्टी निकटहरूको भर परेर सूचना भेरिफाई नगरी मुख्यमन्त्रीले पनि सपना प्रधान मल्ललाई उनको फोटो राखेर बधाई दिएका थिए । 

‘सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा सिफारिशमा पर्नुभएको वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लप्रति हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना छ’ भनेर लेखेका मुख्यमन्त्रीले आफ्नो स्टाटस केही मिनेटमै गलत ठहरिएपछि डिलिट गरेका थिए ।