काठमाडौं ।देशभर सक्रिय भएको पश्चिमी वायु र स्थानीय प्रणालीका कारण वर्षा र हिमपातको क्रम अझै केही समय कायम रहने देखिएको छ । विशेषगरी कोशी प्रदेश केन्द्रित वर्षा प्रणाली सक्रिय रहँदा पूर्वी भूभागमा उल्लेख्य वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो कोशीसहित मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना देखिएको छ।  अन्य प्रदेशका थोरै स्थानमा समान प्रकृतिको वर्षा र हिमपात हुन सक्ने विभागको प्रक्षेपण छ । पूर्वी क्षेत्र विशेषगरी झापा–चितवन खण्डमा रातिदेखि नै मध्यम वर्षा भइरहेको छ।जसको प्रभाव दिउँसोसम्म कायम रहने जलवायुविज्ञ धर्मराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार मधेससहित कोशी प्रदेशमा राम्रै वर्षा हुने सम्भावना उच्च देखिएको छ। पश्चिमी तराईमा यसको प्रभाव अपेक्षाकृत कमजोर रहनेछ । निरन्तर वर्षाका कारण साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने जोखिम देखिएको  भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी बीपी राजमार्गअन्तर्गत पर्ने रोशी खोलामा उच्च सतर्कता आवश्यक देखिएको छ ।

रातिको समय पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । 

मौसमविद् विनोद पोखरेलका अनुसार वैशाख महिनाभर पश्चिमी वायुको प्रभाव असामान्य रूपमा सक्रिय देखिएको छ । यही प्रणालीका कारण आगामी दुई सातासम्म देशका विभिन्न भूभागमा दैनिकजसो वर्षा हुने प्रवृत्ति कायम रहने संकेत छ ।