विराटनगर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा दुई रुपैया घट्यो तर खाना पकाउने एलपी ग्यासको मूल्यमा भने वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलमा आंशिक राहत दिएको छ। नयाँ मूल्यसूची बिहीबार मध्यरातदेखि लागू भएको हो।
निगमका अनुसार, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १५० रुपैयाँले बढाएर २ हजार १६० रुपैयाँ कायम गरिएको छ। यसअघि २ हजार १० रुपैयाँ रहेको ग्यास मूल्य वृद्धि भएसँगै उपभोक्ता मारमा परेका छन्। त्यस्तै, आधा सिलिण्डर ग्यासको मूल्य पनि बढाएर १ हजार ८० रुपैयाँ पुर्याइएको छ, जुन यसअघि १ हजार ५ रुपैयाँ थियो।
नयाँ समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य २१७ रुपैयाँ कायम भएको छ। यसअघि २१९ रुपैयाँ रहेको पेट्रोलको मूल्य घट्दा सवारी प्रयोगकर्ताले सामान्य राहत पाएका छन्।
तर, हवाई इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट हुने आपूर्तिमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ। यसले हवाई सेवा प्रदायक कम्पनीहरूको सञ्चालन लागत बढाउने देखिन्छ। बारम्बारको मूल्य परिवर्तनले उपभोक्तामा अन्योल र असन्तुष्टि बढ्दै गएको छ। विशेषगरी ग्यासजस्तो अत्यावश्यक वस्तु महँगिँदा निम्न तथा मध्यम आय वर्ग प्रत्यक्ष प्रभावित हुने देखिएको छ।





















