काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एक महिना नपुग्दै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादास्पद सम्पत्ति विवरण र सेयर कारोबारसम्बन्धी आरोपहरू तीव्र बनेपछि उनले बुधबारदेखि लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको वक्तव्यमा गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन सुनिश्चित गर्न तथा पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन् । पदभन्दा ठूलो नैतिकता हो, जनविश्वासभन्दा ठूलो शक्ति हुँदैन,उनले भनेका छन् ।

उनले पछिल्लो समय देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको ‘जेनजी आन्दोलन’ले पनि सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन् । आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै उनले छानबिन प्रक्रियालाई सहयोग गर्ने बताएका छन् ।

उच्च स्रोतका अनुसार, रवि लामिछानेसँगको परामर्शपछि गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । गुरुङ सरकार गठनकै दिन गृहमन्त्री नियुक्त भएका थिए र प्रारम्भिक चरणमा उच्च पदस्थ कर्मचारीमाथि कारबाही गर्दै चर्चामा आएका थिए । तर पछिल्ला दिनमा भने उनी विभिन्न आर्थिक र संस्थागत गतिविधिमा मुछिएको आरोपका कारण आलोचनाको केन्द्रमा परेका थिए ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पनि पदबाट हटिसकेका छन् । पत्नीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराउन भूमिका खेलेको आरोप लागेपछि उनलाई प्रधानमन्त्रीले पदबाट बर्खास्त गरेका थिए ।

सरकार गठन भएको २६ दिनमै दुई मन्त्री बाहिरिएपछि कार्यशैली, पारदर्शिता र नैतिकताको विषयमा सरकारमाथि दबाब बढेको छ । विश्लेषकहरूका अनुसार प्रारम्भिक चरणमै देखिएको यस्तो घटनाक्रमले सरकारको विश्वसनीयता र सुशासनको एजेन्डामा गम्भीर प्रश्न खडा गरेको छ ।


Screenshot_20260422_161843_Facebook