विराटनगर।सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले निगरानी कडाइ गरेसँगै सुनसरीको बर्जु गाउँपालिका–३ नजिक भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको गाँजा बरामद भएको छ।

आज बुधबार बिहान करिब २.४५ बजे सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले खरीटोल क्षेत्रदेखि करिब ८ सय मिटर दक्षिणतर्फको सीमाक्षेत्रमा शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो । सो क्रममा केही व्यक्तिहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको भेटिएपछि टोलीले नियन्त्रण प्रयास गरेको थियो ।

प्रहरीको उपस्थिति महसुस हुनेबित्तिकै ती व्यक्तिहरू अँध्यारोको मौका छोप्दै सामान छोडेर फरार भएका थिए । घटनास्थलबाट ६ वटा पोका बनाएर तयारी अवस्थामा राखिएको करिब १६० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।