विराटनगर।ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको २५औं वर्षमा प्रवेश गरेको छ । २५ वर्ष अगाडी भाडाको घरबाट कञ्चनवारी उपसेवा केन्द्रले सेवा सुरु गरेको उपसेवा केन्द्र कञ्चनवारीले आफ्नै जग्गामा सुविधा सम्पन्न चार तल्ले भवनको निर्माण कार्य पुरा गरेको छ । जुन भवन निर्माणका लागि उपसेवा केन्द्रका सदस्य इन्द्रमणी माताले कञ्चनवारी चौकमा रहेको १३ धुर जग्गा दान गरेकि थिइन्।
१ करोड ५० लाख भन्दा बढी रकमको लागतमा उपसेवा केन्द्रले ४ तल्ले भवन निर्माणको काम पुरा गरेको छ । दाताको सहयोगमा भवन निर्माणको कार्य पुरा भएको उपसेवा केन्द्र कञ्चनवारीका प्रमुख रोमा दिदीले जानकारी दिइन् ।
उपसेवा केन्द्र कञ्चनवारीले शुक्रवार पत्रकार सम्मेलन गरेर २५ वर्ष पुरा गरेको अवसर पारेर रजत जयन्ती महोत्सवको आयोजना गर्न लागेको जानकारी दिए। रजत जयन्ती महोत्सवमा निर्माण कार्य पुरा भएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेश विराटनगरका प्रमुख गीता दिदीले रजत जयन्तीको अवसरमा यही वैशाख ४ गतेदेखि १२ गतेसम्म ५ दिवसीय कार्यक्रम आयोजना गर्न लागेको हो । ६ गते निःशुल्क आँखा शिविर एवं रक्तदान कार्यक्रम, ७ गते शिक्षक तथा शिक्षाविदको स्नेह मिलन एवं सम्मान कार्यक्रम, ८ गते संघ संस्था तथा समाज सेवीहरूको स्नेह मिलन एवं सम्मान कार्यक्रम रहेको जानकारी दिए। वैशाख १२ गते रजत जयन्ती महोत्सवको समुद्घाटनको कार्यक्रम रहेको कोशी प्रदेश प्रमुख गीता दिदीले जानकारी दिइन् ।प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी अधिकारीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको निस्वार्थ सेवा उदाहरणीय रहेको बताए । पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र संखुवासभाका प्रमुख रचना दिदीको सहभागिता रहेको थियो ।




















