विराटनगर।वैशाख कृष्ण पक्ष औँसीका अवसरमा मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्तिका साथ आमाको मुख हेरेर मनाइँदैछ। परम्परागत रूपमा यस दिन जन्मदात्री आमाप्रति कृतज्ञता प्रकट गर्दै सन्तानले मीठा–मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद थाप्ने चलन रहँदै आएको छ।

वैदिक सनातन परम्पराअनुसार उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थान आमालाई दिइएको छ। यसै सन्दर्भमा आमाको सम्मान, सेवा र श्रद्धा व्यक्त गर्ने दिनका रूपमा यो पर्वलाई  मानिन्छ । बिहानै स्नान गरी आमालाई मनपर्ने भोजन गराउने र उनकाे आशिष् लिने संस्कार नेपाली समाजमा गहिरोसँग स्थापित छ।

आमा नभएका व्यक्तिहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गरी पुरोहितलाई भोजन गराउने परम्परा निर्वाह गर्छन्। धार्मिक मान्यताअनुसार यस दिन गरिने श्राद्धले दिवङ्गत आमालाई सन्तुष्टि मिल्ने र सन्तानलाई आशीर्वाद प्राप्त हुने विश्वास रहिआएको छ।