काठमाडौ ।सरकारले देशकै प्रमुख यातायात धमनिका रूपमा रहेको महेन्द्र राजमार्ग को नाम पुनः पुरानै कायम गर्ने प्रस्ताव अघि सारेको छ।

मंगलबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा सरकार यस्तो निष्कर्षमा पुगेको हो। प्रस्तावअनुसार, हाल पूर्व–पश्चिम लोकमार्ग का रूपमा चिनिने उक्त मार्गलाई ‘महेन्द्र राजमार्ग’ नामबाट नै सञ्चालन गर्ने तयारी गरिएको छ।

पूर्वाधार विकास शीर्षकअन्तर्गत समेटिएको उक्त प्रतिबद्धतामा सरकारले यो मार्गलाई आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाईवे मापदण्डमा स्तरोन्नति गर्ने लक्ष्यसमेत निर्धारण गरेको छ। यातायात पूर्वाधार सुदृढीकरणमार्फत आर्थिक गतिविधि विस्तार गर्ने रणनीतिअनुसार यो योजना अघि सारिएको जनाइएको छ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजसंस्थासँग सम्बन्धित नाम हटाउने क्रममा यस मार्गलाई ‘पूर्व–पश्चिम लोकमार्ग’ नाम दिइएको थियो।